काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा छानबिन समितिले दिएको रिपोर्ट अध्ययन गरी आवश्यक कारबाही गरिने बताएका छन् ।

आइतबार प्रतिनीधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आज मात्रै आफूले सो प्रतिवेदन बुझ्ने बताए । अहिलेसम्म आफूले प्रतिवेदन नहेरेको भन्दै आजै हेर्ने र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गरिने उनको भनाइ छ ।

“छानबिन समितिले जो प्रतिवेदन ल्याएको छ । गृह मन्त्रालयमा छानबिन समितिले बुझाएको छ । आज म बुझ्दैछु प्रधानमन्त्रीको हैसियतले । अहिलेसम्म मैले हेरेको छैन । म हेर्दैछु। आजै मन्त्रिपरिषद् बैठक छ त्यसलाई सरकारले बनाएको छानबिन समितिले छानबिन गरेर ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ”, उनले भने ।

यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर तत्काल १०/१० लाख रुपियाँ परिवारलाई दिने निर्णय गरिनुका साथै श्रम मन्त्रालयबाट सम्बन्धित कार्यालयबाट पनि रकम उपलब्ध गराउन निर्देशन भएको बताए ।