काठमाडौँ । सरकारी कागजात किर्ते गरी संगठित रूपमा भिजिट भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा एकै सिफ्टमा कार्यरत अध्यागमनका ९ जना अधिकृतहरू छन् । ती अधिकृतसहित प्रहरीले २२ जनाविरुद्ध मुद्दा चलाउने रायसहितको अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

लिखित कसुर र संगठित अपराध गरेको आरोपमा आइतबार पेस भएको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता हुने अन्तिम चरणमा रहेको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान कार्यालयले भिजिट भिसाका नाममा भएको मानव तस्करी अनियमिततामा छानबिन र अनुसन्धान अघि बढाएपछि आरोपीमध्ये १२ जना फरार छन् । तीमध्ये पनि फरार हुनेमा ८ जना अध्यागमन अधिकृत छन् ।

केही दिन अघि मात्रै विमानस्थलमा अध्यागमन अधिकृतलाई प्रहरीले चेकजाँच गर्ना खोज्दा प्रहरीलाई अधिकृतले लात्याले हिर्काएका थिए । अधिकृतले चेकजाँच गर्न नमानी प्रहरीलाई नै लात्याले हिर्काएपछि प्रहरी र ती अधिकृतबीच तनाव उत्पन्न भएको सीसी टिभी फुटेज वाहिरिएको थियो ।