
उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय सहमतिको सरकार बनाउन दलहरुलाई सुझाव दिनुभएको छ । समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय सहमतिको सरकार अनिवार्य आवश्यक भएको पुनले बताउनुभयो ।
आज नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवाको स्वर्ण जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले संविधानको तिव्र कार्यान्वयन, राष्ट्रिय एकता निर्माण, प्राकृतिक विपत्तिको सामना र समृद्ध राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको सरकार आजको आवश्यकता भएको बताउनुभयो ।
राष्ट्रका प्रमुख एजेण्डाहरुमा समेत सहमति गर्न दलहरुलाई अपील गर्दै उहाँले राष्ट्रिय सहमतिको सरकार बन्नेमा विश्वास व्यक्त गर्नुभयो । साथै उपराष्ट्रपति पुनले बाढी पहिरो पीडितहरुको छिटो भन्दा छिटो उद्धार गर्न र राहत दिन पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
