काठमाडौं । प्रहरीले तपस्वी रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई पक्राउ गरेको घरबाट तीन करोड तीन लाखभन्दा बढी नगद बरामद गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता नवराज अधिकारीले काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–६ टनगाउँमा बस्दै आएका बम्जनको घरबाट तीन करोड तीन लाख ७५ हजार पाँच सय नेपाली रुपियाँ बरामद गरेको जानकारी दिए ।

प्रवक्ता अधिकारीका अनुसार तीन करोड तीन लाख ७५ हजार पाँच सय नेपाली रुपियाँ, विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ विदेशी मुद्रा गरी तीन करोड ३४ लाख ३७ हजार ९०६ रुपियाँ बरामद भएको हो ।

यसैगरी, प्रहरीले मोटरसाइकलको बिलबुक तीन थान, गाडीको चाबी एक थान, विभिन्न ब्राण्डका पेन ड्राइभ २० वटा, भ्याइस् रेकडर एक थान, मेमोरी कार्ड दुई थान, ल्यापटप दुई थान, मोबाइल १४ थान तथा आइप्याड र ट्याप पाँच थान बरामद गरेको छ । बम्जनको आश्रमबाट विभिन्न समयमा बेपत्ता भएका अनुयायीहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको छ ।