एजेन्सी । फ्रान्समा ३४ वर्षीय गेब्रियल याटाल फ्रान्सको नयाँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार नयाँ सरकारको प्रमुखको रुपमा याटालको नाम घोषणा गरेका हुन् ।

याटाल आधुनिक फ्रान्सेली इतिहासमा सबैभन्दा कान्छो प्रधानमन्त्री हुनेछन् । यसअघि समाजवादी लरेन्ट फाबियस सन् १९८४ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री भएका थिए ।उनी एलिजाबेथ बोर्नको उत्तराधिकारी बन्ने भएका हुन् । बोर्नले आफ्नो कार्यकालको २० महिनापछि राजीनामा दिएकी थिइन् ।