रुकुम। रुकुम पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले बढेको छ । गत वर्ष जिल्लामा १२ सय मौरीका गोलाबाट ६०० मेट्रिक टन मह उत्पादन भएकोमा यस वर्ष १७०० मौरीका गोलाबाट १२०० मेट्रिक टन मह उत्पादन भएको प्रारम्भिक अनुमान एकीकृत तथा पशुपन्छी विकास कार्यालयले गरेको छ ।
अझै पनि किसानको मह निकाल्ने काम जारी भएको हुँदा अहिल नै यति मह उत्पादन भएको छ भनेर भन्न नसकिने एकीकृत तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पिताम्बर बस्नेतले बताए । उत्पादित महको ८० प्रतिशत मात्र बिक्री भयो भने पनि एक करोड १५ लाख २० हजार जिल्लामा आम्दानी हुने कार्यालयले जनाएको छ ।
जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३ मा मौरीपालन हुँदै आएको छ । सिस्ने–३ का ओमप्रकाश खड्काले दुई सय ५० धार्नी मह बिक्री गरेर यो याममा रु सात लाख ५० हजार आम्दानी बताए ।











