काठमाडौं । नेपाली कांग्रेसले आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभाका लागि उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनको सिट बाँटफाँटबाट आफ्नो भागमा परेका १० जना उम्मेदवारको टुङ्गो लगाएको हो । जसअनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुङ्गानालाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ ।

त्यसैगरी बाग्मती प्रदेशमा जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा लुम्बिनीमा विष्णुकुमारी सापकोटा, कर्णालीमा कृष्णबहादुर रोकाया तथा सुदूरपश्चिममा बलदेव बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेसले जनाएको छ ।

यता शेखर कोइराला पक्षले चारजना उम्मेदवार पाउनुपर्ने दाबी गरे पनि तीन जना पाएको छ । उम्मेदवारी चयनको निर्णय न्यायसंगत र समावेशी हुन नसकेको भन्दै महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् ।