काठमाडौं । सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्। प्रहरीको गोली लागेर दुई जना युवकको ज्यान गएपछि आज सोमबार बिहान बोलाइएको संसदीय समितिको बैठकमा श्रेष्ठकै अगाडि उनले गृहमन्त्रीको राजीनामा मागेका हुन्।
सोमबार बिहान मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) अन्तर्गत छानविन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको गृहमन्त्री श्रेष्ठले जानकारी गराएपछि राईले भने, ‘उक्त समितिले तपाईंले गृहमन्त्रीबाट राजीनामा नदिसम्म छानबिन गर्न सक्दैन। हुँदैन।’
‘मन्त्रीको पीएसओ, डीएसपी, सिडियोलाई निलम्बन किन गर्नुहुन्छ ? पहिला तपाईं आजै राजीनामा दिनुहोस्, कर्मचारीलाई मात्रै कारबाही नगर्नुस्।’ उनले भने, ‘मन्त्रीले भनेपछि पीएसओ खुरुखुरु हिड्न पर्छ तपाईं उसलाई किन कारबाही गर्नुहुन्छ।’
समस्या सिर्जना भएपछि सरकारले गम्भीर ढंगबाट समाधान गर्ने कि सरकाले गोली हान्ने उनले प्रश्न गरे गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहीको मृत्यु भएको थियो।











