जाजरकोट भूकम्पबाट भारी मात्रामा क्षती भएको नलगाड नगरपालिका–१ कल्पतगाउँमा त्रिपालको सहारामा बसिरहेका सर्वसाधारण । तस्बिरः हेमन्त केसी / रासस

जाजरकोट । भूकम्प प्रभावित जाजरकोटको जुनीचाँदे गाउँपालिकामा औषधी अभाव भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिकाका बासिन्दा बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधी पाउन सकेका छैनन् ।

चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउनेलगायत समस्या लिएर बिरामी स्वास्थ्य संस्था जाने गरेका छन् तर औषधी नहुँदा बिरामी रित्तै फर्कन बाध्य छन् । औषधी अभावमा उपचार सेवा प्रभावित भएको स्वास्थ्यकर्मी स्वयम्ले बताएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा कार्यरत अनमी सरस्वती शाहीले चिसोले गर्दा बिरामी सङ्ख्या बढ्दै गएको भए पनि औषधी नभएको बताउनुभयो । चिसोका कारण निमोनिया, झाडापखाला, दम, रुघाखोकीलगायत श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको छ । औषधी नहुँदा उपचार गर्न नसकिएको उहाँको भनाइ छ । स्वास्थ्य संस्थामा सिटामोलसमेत नभएको र बिरामीले निःशुल्क पाउने औषधीसमेत दिन नसकेको शाहीले बताए ।

जुनीचाँदे गाउँपालिका–६, दहकरुवा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी कमलाकुमारी शाहीले पनि औषधी अभाव हुँदा उपचार सेवा प्रभावित भएको छ।