काठमाडौँ । सरकारले प्रहरीको गोली लागेर दुई युवाको ज्यान गएको बालकुमारी घटनामा ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुखसहित पाँचजनालाई कारबाही गरेको छ ।
घटना छानबिनका लागि नेपाल प्रहरीका डिआइजी लालमणि आचार्यको संयोजकत्वमा समिति गठन गरेको सरकारले ललितपुरका सिडिओ रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाएको हो ।
पण्डितलाई गृह मन्त्रालय र शाहलाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ । त्यस्तै, इपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई पनि जिम्मेवारीमुक्त गरेकोमा घटना नियन्त्रणमा कमान्ड गर्न नसकेका जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी उमेश लम्साल र भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाका पिएसओ बोधराज दनुवारलाई निलम्बन गरिएको छ ।
दक्षिण कोरिया रोजगार अनुमति प्रणाली ९इपिएस० परीक्षामा सहभागी हुन नपाएको भन्दै शुक्रबार युवाहरूले ललितपुरको बालकुमारीमा आन्दोलन गरेका थिए । आन्दोलनमा प्रहरीको गोली लागेर २३ वर्षका दुई युवा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो ।
यस्तै, घटनामा ज्यान गुमाएका रावत र शाहका परिवारलाई प्रतिमृतक १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय शनिबारको मन्त्रिपरिषद्ले गरेको छ ।
