काठमाडौं । गृह मन्त्रालयले शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा भएको प्रदर्शन, तोडफोड र आगजनीको विषयमा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो।

समिति सदस्यमा जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक वासु सिग्देल सदस्य छन् । छानबिन समितिलाई सत्यतथ्य पत्ता लगाएर सात दिनभित्र प्रतिवेदन मन्त्रालयमा पेश गर्न कार्यादेश दिएको छ।

शुक्रबार बिहान ललितपुर महानगरपालिका ८ बालकुमारीमा कोरियन भाषा परीक्षा (इपिएस) फारम भर्न जम्मा भएका व्यक्तिले प्रदर्शन, तोडफोड, आगजनी गर्दा प्रहरीले स्थिति नियन्त्रणमा लिनेक्रममा दुई जनाको मृत्यु भएको छ।प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र डोटीका वीरेन्द्र साहको ज्यान गएको थियो । प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर आगजनी गरेका थिए ।