आसाम । आसामको दरंग जिल्लास्थित मंगलदईमा बुधबारदेखि तीन दिने विश्व संस्कृत सम्मेलन शुरु भएको छ । १४ देशका प्रतिनिधि सहभागी सम्मेलनमा संस्कृत भाषा र शिक्षाको महत्वबारे बहस र छलफल भैरहेको छ ।

सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालयका तर्फबाट विश्व संस्कृत सम्मेलन आयोजक समिति संयोजक प्रा. डा. काशीनाथ न्यौपाने, उपप्राध्यापक डा. विपिराज न्यौपाने, उपप्राध्यापक दुर्गालाल केसी, सहप्रशासक सुरज लामा, अधिकृत कमल पोख्रेललगाएतका प्राध्यापक र कर्मचारीहरुको सहभागिता छ ।

लोकभाषा प्रसार समिति भारतको आयोजना र केन्द्रीय संस्कृत विश्वविद्यालय दिल्लीको सहयोगमा आयोजित सम्मेलनमा संस्कृत भाषाका ज्ञाताहरुले बिभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम छ । सम्मेलन उद्घाटनका अवसरमा बुधबार बिभिन्न झाँकी र नाचगानसहित मंगलदई बजार परिक्रमा गरी संस्कृत भाषाको प्रचारप्रसार गरिएको थियो । सम्मेलन उद्घाटन गर्दै आसामका राज्यपाल गुलाव चन्द कटरीयाले संस्कृत भाषा ज्ञान र सभ्यताको भण्डार भएको बताए । महाभारत, रामायण, वेद जस्ता विश्वका महत्वपूर्ण ग्रन्थ संस्कृत भाषामा सिर्जना भएको प्रसंग उल्लेख गर्दै उनले संस्कृत भाषा आदिकालदेखि प्रयोगमा आएको बताए ।

कार्यक्रममा अक्षरधाम दिल्लीका अध्यक्ष स्वामी भद्रेसशदास, कुमार भास्कर वर्मा संस्कृत पुरातनाध्ययन विश्वविद्यालयका कुलपति प्रल्हाद जोशीका साथै संस्कृतका बिभिन्न बिज्ञहरुले संस्कृत भाषाको सान्दर्भिकतबारे बिचार प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ‘बिश्वहिताय संस्कृतम्’ बिषयमा तीन दिनसम्म बिभिन्न बिज्ञहरुबीच बिचार बिमर्श हुने भएको छ ।
संस्कृत भाषाको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारका लागि नेपालमा पनि २०८१ पुसमा विश्व संस्कृत सम्मेलन हुँदैछ । नेपाल संस्कृत विश्वविद्यालयको संयोजनमा हुन लागेको उक्त सम्मेलनको पनि तयारी थालिएको छ ।