तौलिहवा । लुम्बिनी प्रदेशको कपिलवस्तुबाट नेपाल–भारत सीमास्तम्भहरुको मर्मत सम्भार सुरु गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको अगुवाइ तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटर कपिलवस्तुको आयोजनामा सीमा स्तम्भका मर्मत सम्भारको काम शुभारम्भ गरिएको हो ।

मधेश प्रदेशमा भने एक महिना अघिदेखि नै सशस्त्र प्रहरीको अगुवाइमा सीमास्तम्भहरुको मर्मत सम्भार भएको हो । जिल्लाको कृष्णनगर नगरपालिका २ लिङ्क गेटको किनारमा रहेको ५ सय ६७ (१) नम्बरको सहायक सीमास्तम्भको मर्मत गरी कामको सुरुवात गरिएको हो ।

बाहिनी पति तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्री, कृष्ण नगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाह, भारतको बलरामपुर जिल्लाका सेक्सन इन कमान्डका प्रमुख विकासदीप सिंह, सहायक प्रजिअ अनिल पौडेलले सीमास्तम्भमा करनीले मसला र पेन्ट लगाएर मर्मत सम्भारको काम शुभारम्भ गरेका हुन् ।

बिजोर नम्बरको नेपाल र जोर नम्बरको सीमास्तम्भको भारतले मर्मत सम्भारको जिम्मा पाएको छ । लुम्बिनी प्रदेशको कुल ४३५ किलोमिटर सीमा भारतसँग जोडिएको छ । लुम्बिनी प्रदेशका ८८८ वटा सीमास्तम्भ रहेका छन् । कपिलवस्तुमा ठुलो सहायक र साना गरी कुल २७७ वटा सीमास्तम्भको मर्मत गरिने छ ।