घोराही । नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा घोराहीका चार वटा विद्यालयहरुमा आत्महत्या विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

लैंगिक हिसा विरुद्धको १६ दिने अभियान अन्तरगत सचेतना कार्यक्रम सम्पन्न भएको हो । ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने मूल नाराकासाथ मनाईरहेको अभियान अन्तरगत नेपाल महिला सामुदादयिक सेवा केन्द्र र नागरिक आवाजको सहकार्यमा सञ्चालित सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिकाको चारवटा सामुदायिक विद्यालयहरुमा आत्महत्या विरुद्ध सचेतना कार्यक्रम गरिएको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ को मावि डाँडागाउँ गोग्ली, घोराही उपमहानगरपालिका वडा नम्बर ६ को जयशेर मावि रावतगाउँ, घोराही उपमहानगरपालिका वडा नम्बर १३ को बराहक्षेत्र मावि बनगाउँ र घोराही उपमहानगरपालिका वडा नम्बर १७ को मावि चौघेरामा सचेतना कार्यक्रम गरिएको हो ।

चार विद्यालयका ३ सय बढि बालबालिका एवं शिक्षकहरुलाई मनोसामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकालले प्रशिक्षण दिएका थिए । आत्महत्या भनेको के हो, आत्महत्याका कारणहरु, लक्षणहरु र न्यूनिकरणका उपायहरुका विषयमा कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा सहभागीहरु पछिल्लो समय समाजमा आत्महत्याका घटनाहरु बढ्दोमा मात्रामा रहेकाले यसको न्यूनिकरणकालागी सबै सचेत रहनुपर्ने बताएका थिए । मानसिक स्वास्थ्य समस्याले गर्दा आत्महत्या बढिरहेकाले अभियान अन्तरगत विद्यालय केन्द्रिय सचेतना कार्यक्रमहरु आयोजना गरिएको संस्थाका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा सहभागी सुस्मीता बिकले समुदायमा आत्महत्याको घटनाहरु बढिरहेको सुनेकाले यस विषयमा चेतनामूलक कार्यक्रम आयोजना गरेको संस्थालाई धन्यवाद दिए ।