एजेन्सी । इजरायल–हमासबीचको अस्थायी युद्धविराम सकिएको छ । युद्धविराम सकिएसँगै शुरु भएको इजरायली सेनाको आक्रमणमा गाजामा ३२ जनाको ज्यान गएको छ । इजरायली सेनाले आक्रमण शुरु गरेको तीन घण्टामा ३२ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यसैबीच इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता पिटर लेर्नरले हमासले आफ्नो वचन पूरा नगरेका कारण अब हमासलाई अन्त्य गरेर बाँकी बन्धक फिर्ता ल्याउन युद्ध शुरु गरेको बताएको बीबीसीले जनाएको छ ।
हमासद्वारा सञ्चालित आन्तरिक मामिला मन्त्रालयले इजरायली हवाई आक्रमणबाट धेरै क्षेत्र प्रभावित भएको जनाएको छ । युद्धविरामले गाजामा बन्दी बनाइएका एक सय जनाभन्दा बढी रिहा हुन सफल भएका छन् । अझै झण्डै एक सय ४० जना बन्धक रिहा हुन बाँकी छन् ।
युद्धविराम अवधिको अन्तिम समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले थप बन्धकहरूलाई रिहा गर्न सहमत नभएर युद्धविरामको सर्तहरूको उल्लङ्घन गरेको आरोप लगाएका छन् ।











