काठमाडौं । नेपालमा पहिलो पटक समलिंगी जोडीको विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिका– २ वडा कार्यालयले बुधबार रामबहादुर गुरुङ (माया) र सुरेन्द्र पाण्डे समलिंगी जोडीको विवाह दर्ता गरेर हो ।
सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम अस्थायी अभिलेख रहने गरी जारी उनीहरुलाई विवाह दर्ता प्रमाणपत्र उपलब्ध गराइएको हो । उनीहरूले गत जेठमा विवाह दर्ताको माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । माया दोर्दी गाउँपालिका– २ र सुरेन्द्र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका– ८ का स्थायी बासिन्दा हुन् । माया पारलैंगिक महिला हुन् भने सुरेन्द्र समलिंगी हुन् ।
गाउँपालिका अध्यक्ष युवराज अधिकारीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन एवं परिपत्रका आधारमा विवाह दर्ता गरिएको बताए । ‘सुरुमा गाउँपालिकामा विवाह दर्ता गर्न निवेदन आएको थियो । पछि हाम्रै समन्वयमा दुवैले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा निवेदन दिएपछि विवाह दर्ता भएको हो ।











