एजेन्सी । इजरायली र हमासबीच चार दिनको युद्धविराम भएपछि हमासले थप १३ जना इजरायली बन्धक र ४ जना थाई नागरिकलाई रिहा गरेको छ । उनीहरुलाई हमासले रेडक्रसको जिम्मा लगाएको बीबीसीले जनाएको छ ।

गएराति हमासले इजरायली र थाई गरी १७ जनालाई रिहा गरेको हो । योसँगै युद्धविरामको तेस्रो दिनसम्म हमासले ३० जनालाई रिहा गरेको छ । युद्धविरामको पहिलो दिन अस्ति शुक्रवार हमासले १३ जना इजरायलीलाई रिहा गरेको थियो ।

हमासले थप १७ जनालाई रिहा गरेपछि इजरायलले पनि थप ३९ जना प्यालेस्टिनी कैदीहरूलाई पनि रिहा गरिएको इजरायलको सुरक्षा निकायले पुष्टि गरेको छ ।

युद्धविरामको पहिलो दिन शुक्रवार ३९ जना प्यालेस्टिनी, १० जना थाई नागरिक र एक जना फिलिपिनी नागरिकलाई रिहा गरिएको थियो ।

युद्धविराम अवधिमा हमासले कम्तीमा ५० जना बन्धीलाई रिहा गर्नेछ भने इजरायलले एक बन्धक बराबर तीन जनाको दरले कैदीबन्दी रिहा गर्नेछ ।