काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका १६ वटा क्याम्पसको सम्बन्धन खारेज भएको छ । विद्यार्थीको संख्या न्यून भएपछि ३२ क्याम्पसलाई १६ वटा क्याम्पसमा मर्ज गरिएपछि १६ क्याम्पसको सम्बन्धन त्रिविले स्वतः खारेज गरेको हो ।

गएको जेठमा त्रिविले एक–अर्कामा समायोजन हुन चाहने क्याम्पसलाई निवेदन दिन असारसम्मको समयसीमा तोकेर सूचना जारी गरेको थियो । सोहीअनुसार परेका निवेदनका आधारमा क्याम्पसहरूलाई समायोजन गरेको त्रिवि योजना निर्देशनालयका निर्देशक ध्रुव गौतमले जानकारी दिए ।

‘विद्यार्थी संख्या कम हुने र आर्थिक अवस्था कमजोर हुने क्याम्पसहरू गाभिएका छन्, दुईवटा गाभिँदा एउटा क्याम्पस स्वतः खारेज हुन्छ । हाल ३२ वटा क्याम्पस गाभिएर १६ वटा बनेपछि १६ वटा क्याम्पस खारेज भए,’ उनले भने ।

अझै पनि धेरै क्याम्पस आर्थिक र विद्यार्थी संख्याको हिसाबमा धराशयी रहेकाले त्रिविले मर्ज हुन चाहने क्याम्पसलाई पुनः थप समय दिएर गाभ्ने योजना पनि अघि सारेको छ ।