काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपाल र व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा हुन लागेको प्रदर्शनलाई ध्यान राखेर आज काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाण्डौ उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच भइरहेको छ । ट्राफिक प्रहरीको समेत सहभागितामा नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी राखेको छ ।
अवैधानिक तथा प्रतिबन्धित वस्तु काठमाण्डौ उपत्यका छिर्न नदिन एवं शङ्कास्पद व्यक्तिलाई रोक्ने उद्देश्यका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ । निजी तथा सार्वजनिक तथा मालवाहक गाडीका साथै मोटरसाइकलमाथि पनि विशेष निगरानी भइरहेको छ । सहरका मुख्य चोकहरुमा पनि सुरक्षा जाँच भइरहेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन अनुरोध गरेको छ ।
बल्खु र तीनकुनेमा हुन लागेको छुट्टाछुट्टै प्रदर्शनको सुरक्षाको लागि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् । प्रदर्शनको सुरक्षाको पहिलो तहमा नेपाल प्रहरी खटिएको छ भने सशस्त्र प्रहरी दोस्रो लहरमा छ । सूचना सङ्कलनका लागि राष्ट्रिय अनुसन्धान विभागसँगै दुवै प्रहरी सङ्गठनबाट सादा पोसाकका प्रहरी समेत परिचालित गरिएको छ । दुई पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।
राष्ट्रिय युवा सङ्घ नेपालले देशमा मौलाइरहेको भ्रष्टाचार, मंहगीलगायतका विरोधमा प्रदर्शन गर्दै छ भने राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा व्यवसायी दुर्गा प्रसाईँको आहनमा प्रदर्शन हुदैछ ।
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन दुवै पक्षलाई आग्रह गरिएको र उच्छृङ्खल गतिविधि गरेमा कानुनअनुसार कारबाही हुने प्रशासनले जनाएको छ । आजको प्रदर्शनका कारण हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै शान्ति सुरक्षाको सबै व्यवस्था मिलाइएको छ । दुबै पक्षले आज प्रदर्शनमा लाखौ जनता उतार्ने दावी गर्दै आएका छन् ।
