काठमाडौं । नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोह विधिवत रुपमा समापन भएको आज १७ वर्ष पुरा भएको छ । २०६३ मंसिर ५ गते अर्थात आजकै दिन नेपाल सरकार र द्वन्द्वरत पक्ष नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भयो । त्यो विस्तृत शान्ति सम्झौतासँगै माओवादीले २०५२ फागुन १ गतेदेखि सञ्चालन गरेको सशस्त्र युद्ध (जनयुद्ध) विधिवत रुपमा समापन भएको थियो ।
विस्तृत शान्ति सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र द्वन्द्वरत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। नेपालमा २४० वर्ष शासन गरेको राजतन्त्र यसैको जगमा अन्त्य भयो।
माओवादीले सशस्त्र युद्धका क्रममा राज्य र विद्रोही पक्षबाट गरी करिब १७ हजारको ज्यान गयो। देशका गतिला धेरै संरचना ध्वस्त पारिए। जनताले पाउनुसम्म दुःख पाए । त्यसपछिको लोकतान्त्रिक पद्धतिबाट युद्धरत माओवादी शक्ति सत्तामा पुग्यो। यो संसारका विरलै घटना मध्ये हो, जहाँ चुनावै जितेर युद्धरत शक्ति सत्तामा आएको।
२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दल बन्यो माओवादी। माओवादीका सुप्रिमो प्रचण्डले गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री बन्ने अवसर पाए। त्यसपछि प्रचण्ड तीनपटक प्रधानमन्त्री भइसकेका छन्। तत्कालीन युद्धरत माओवादीकै डा. बाबुराम भट्टराई पनि प्रधानमन्त्री बनेका छन्। मुलुकमा गणतन्त्र आएपछि सबैभन्दा बढी सत्तामा पनि माओवादी नै छ।
संविधानसभाबाट नयाँ संविधान जारी भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू भएको छ। तर तत्कालीन राज्य पक्ष र माओवादीबाट भएको मानव अधिकार उल्लंघनको छानबिन गरी सत्य पत्ता लगाउने र दोषीलाई कारबाही गर्ने काममा भने कुनै प्रगति भएको छैन।
हतियार व्यवस्थापन तथा माओवादीका लडाकु व्यवस्थापनजस्ता काम पूरा भए पनि द्वन्द्वपीडितले न्याय र पीडकले सजाय पाएका छैनन्। द्वन्द्वका बेला बेपत्ता भएका कतिपयको अवस्था अझै सार्वजनिक हुन सकेको छैन। देशमा सुशासन भन्दा कुशासन मौलाउदै गएको छ । पछिल्लो समयमा लोकतन्त्रपछि केही गर्छन कि भन्ने ठूला राजनीतिक दल भ्रष्टाचारमा चुर्लुम्म डुवेका छन् भने जनता उनीहरुको व्यवहार र शैलीबाट विछिप्त भएका छन् ।
