दाङ । तुलसीपुरमा घरभित्र मृत फेला परेका दाजुभाइको शव निकालेर अस्पताल लगिएको छ। मंगलबार बिहान ९ बजेतिर दुई दाजुभाइको शव निकालेर पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको हो।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेनाका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका ३० वर्षीय भाइ टेकबहादुर बस्नेत सोमबार बेलुकी भाडामा बस्दै आएको घरभित्र मृत अवस्थामा फेला परेका थिए।

टेकबहादुरकी श्रीमती तिहार मान्न भनेर रोल्पास्थित माइतीमा गएको र उनले आफू नआउँदासम्म ढोका नखोल्नु तथा शव नउठाउनु भन्ने आग्रह गरेको हुँदा उनी आएपछि मात्रै ढोका खोलेर दुई दाजुभाइका शवहरू निकालेर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

उनीहरूको कोठामा किटनाशक विषादीको खोल फेला परेको छ । गिलासमा पनि विषादीको घोलजस्तो गन्ध आएको पाइएको प्रहरीले जनाएको छ । पूर्ण परिवारका साइँला र टेकबहादुर कान्छा हुन्।

घटनाबारे थप अनुसन्धान जारी रहेको तथा पोष्टमर्टम रिपोर्टपछि मात्रै यकिनका साथ उनीहरूको मृत्युको कारण भन्न सकिने प्रहरीको भनाइ छ ।