जाजरकोट । जाजरकोट नलगाड नगरपालिका–७ दल्लीकी एकमहिने सुत्केरी राधिका कुसारीको १६ दिनदेखि बारीमै बास छ । बारेकोट–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षतिग्रस्त घरमा बस्न नमिल्ने भएपछि उनी बारीमै त्रिपाल टाँगेर परिवारसँगै बस्दै आएकी हुन्, जसका कारण उनको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेका छन् ।
चिसोले शरीर दुख्नुका साथै रुघाखोकीसमेत लागेको उनले बताइन् । ‘मेरो र बच्चाको बिजोग छ,’ उनले भनिन्, ‘पर्याप्त खानेकुरा छैन, भएको चामल पनि सकिन थालेको छ । न्याना कपडा छैनन्, रातभर शरीरमाथि शीत चुहिन्छ ।’ चिसोले रुघाखोकी बढेपछि केही दिनअघि बच्चालाई अस्पताल लिएर गएको उनले बताइन् ।
भेरी नगरपालिका–४ खलंगामा रहेको एक विद्यालयको त्रिपालमा १९ दिनकी सुत्केरी विमला तिरुवा बसिरहेकी छन् । दिन जसोतसो घामको सहारामा कटे पनि रात कटाउन मुस्किल परेको उनले बताइन् । ‘सुत्ने ठाउँमा शीत चुहिन्छ, चिसोले बच्चा र मलाई स्वास्थ्य समस्या देखिन थालेको छ,’ उनले भनिन्, ‘बच्चा र मेरो मुख, आँखा, हातखुट्टा सुन्निएका छन् । न न्याना लुगा पाएकी छु, न पेटभरि खान नै ।’
भाडामा बस्दै आएको घर भूकम्पमा भत्किएर बस्न नमिल्ने भएपछि उनको परिवार पालमा बस्न थालेको हो । भूकम्प आएको दिन उनी ३ दिनकी सुत्केरी थिइन् । ज्याला मजदुरी गर्ने उनका श्रीमान् भूकम्पपछि काममा जान पनि पाएका छैनन् । अहिले ५ जनाको परिवारलाई के खाने भन्ने चिन्ता रहेको उनले बताइन् । भाडामा बस्ने भएकाले स्थानीय सरकारले पनि चासो नदिएको उनको गुनासो छ । त्रिपालमा बस्न थालेपछि सन्चो नभएको दल्लीकी ९ महिनाकी गर्भवती १९ वर्षीया पूजा पुनले बताइन् । ‘मंसिर १४ मा डाक्टरले सुत्केरी हुने मिति दिएका छन्,’ उनले भनिन्, ‘अहिलेदेखि नै शरीर दुख्ने, हातखुट्टा सुन्निने समस्या देखिएको छ ।’ रातभरि चुहिने शीतले दिन प्रतिदिन गाह्रो हुँदै गएको उनले बताइन् ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटकी प्रमुख डा। प्रतीक्षा भारतीका अनुसार भूकम्पबाट बढी प्रभावित जाजरकोटमा बारेकोट र कुशे गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा ५ वर्षमुनिका १० हजार ५ सय ६० बालबालिका प्रभावित छन् आजको कात्निपुरमा खबर छ। यस्तै १३ सय ६० जना गर्भवती भूकम्पबाट प्रभावित भएका छन् भने ९ सय सुत्केरी छन् । अन्य पालिकाको तथ्यांक संकलनको क्रममै रहेको उनले बताइन् ।