काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता वार्ता समितिको बैठक सम्पन्न भएको छ । बैठकले पार्टी एकताको लागि दुबै पार्टीका केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने निर्णय गरेको छ ।

बैठकपछि माओवादी केन्द्रको वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टीको वार्ता समितिका संयोजक गंगानारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकता संयोजन समिति गठन गर्ने र त्यसले दुबै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल र सहमतिको आधारमा अगाडि बढ्ने उल्लेख छ ।

संयुक्त प्रेस वक्तव्य

आज मिति २०८० मङ्सिर ३ गते नेकपा (माओवादी केन्द्र) र नेसपाबीचको पार्टी एकता वार्ता समितिको बैठक बस्यो । बैठकको प्रारम्भमा सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ भयो । बैठकमा पार्टी एकताको लागि दुबै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने साथै उक्त पार्टी एकता संयोजन समितिले दुबै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरेअनुरुप अगाडि बढ्ने गरी दुबै पार्टीलाई सुझाव दिने निर्णय गरियो ।

कृष्णबहादुर महरा
संयोजक, वार्ता समिति
नेकपा (माओवादी केन्द्र)

गंगानारायण श्रेष्ठ
संयोजक, वार्ता समिति
नेपाल समाजवादी पार्टी