काठमाडौं । टीकापुरका रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुन लागेको हो। गत १५ जेठमा गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा चौधरीको जन्मकैदको सजाय मिनाहा गरिएको थियो।

सर्वोच्चले चौधरीलाई कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्ने तल्लो तहका अदालतको फैसला सदर गरेको थियो। तर उक्त फैसलाको पूर्ण पाठ नआउँदै कैद मिनाहा गरिएको थियो। चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो । सत्ता जोगाउन सरकारले रेशमलाई आममाफी दिइएको आलोचना हुँदै आएको छ ।