काठमाडौँ । शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण क्षति भएको जाजरकोट र रुकुम पश्चिमलागि सरकारले ५–५ करोड राहत घोषणा गरेको छ । भुकम्पमा परी ज्यान गुमाउनेका परिवारलाई सरकारले प्रतिमृतक २ लाखका दरले रकम उपलब्ध गराउने भएको छ ।
त्यस्तै भूकम्पबाट भत्केका घर बनाउन ३ लाखका दरले अनुदान दिने सरकारले घोषणा गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको आकस्मिक बैठकले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत खर्च गर्ने गरी रुकुम पश्चिम र जाजरकोटलाई ५-५ करोड रुपैयाँ पठाउने निर्णय गरेको हो ।
मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार, अस्थायी आवास र खाद्यान्न व्यवस्थापनका लागि उक्त रकम खर्च हुने बताइएको छ । खोज, उद्धार र राहतसम्बन्धी थप निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकबाट गर्ने सरकारको तयारी छ । सरकारले भूकम्पमा परी घाइते हुनेको निःशुल्क उपचारको व्यवस्था पनि मिलाएको छ । भूकम्पले घर भत्किएकाको हकमा अस्थायी आवासका लागि सरकारले तत्काललाई प्रतिपरिवार ५० हजार रुपैयाँसम्म रकम उपलब्ध गराउने तयारी गरेको छ । सरकारले भूकम्पका परी घाइते भएको सबैको खर्च व्यहोर्ने पनि जनाएको छ ।
जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी शनिबार रातिसम्म कम्तीमा १ सय ५७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । उक्त भूकम्पबाट ७ जिल्ला प्रभावित भए पनि मृत्यु हुनेमा जाजरकोट र रुकुम पश्चिमका छन् । सबैभन्दा बढी जनधनको क्षति हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका ११, १२, १३ र १४ वडा तथा सानो भेरी नगरपालिकाका २, ३ र ४ वडा छन् । यस्तै जाजरकोटको नलगाड नगरपालिका–१ र भेरी नगरपालिकाका १, ३ र ४ वडामा भूकम्पले बढी क्षति पुर्याएको छ ।
