काठमाडौं । नेपाली बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको छ । ग्यासको आयात घटेसँगै खपतमा कमी भएको हो ।
विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको हो । पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । बिजुली र अन्य स्रोतभन्दा सस्तो पर्ने हुँदा ग्यासको खपत बढी हुने गरेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९/८० मा ५३ अर्ब रुपियाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको छ ।
आव २०७८/७९ मा ६१ अर्ब रुपियाँ बराबरको पाँच लाख ३६ हजार ६९८ मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुुलनामा आठ अर्ब रुपियाँ बराबरको ग्यास आयात कम भएको छ ।
निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले खाना पकाउनका लागि बिजुुलीको प्रयोग बढ्दै गएपछि ग्यासको आयातमा कमी आएको जानकारी दिए । आर्थिक गतिविधि कम हुँदा ग्यासको खपत घटेसँगै आयातमा कमी आएको उनको भनाइ छ । ग्यासको आयात घटेपनि सरकारले भने वर्षेनी ग्यायसको मूल्य बढाउदै लिएको छ ।











