काठमाडौं । कोशी प्रदेशको मुुख्यमन्त्रीमा कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्की नियुक्त भएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका ३९ र कांग्रेसको विद्रोही समूहका आठ गरी ४७ प्रदेश सभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । तर, सत्तागठबन्धनले पनि उनलाई स्वीकार गर्ने र विश्वासको मत दिने निर्णय लिएपछि कोशीको राजनीतिमा नयाँ कोर्ष शुरु भएको छ ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन्। उनलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथग्रहण गराउँदै छन्। शपथ ग्रहणका लागि दिउँसो २ बजेको समय तय भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ। कोशी प्रदेशमा १० महिनामा पाँचपटक मुख्यमन्त्री परिवर्तन भइसकेका छन् ।