
काठमाडौं । प्यालेस्टाइनको हमास समूहले इजरायल गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । त्यहाँस्थित किबुजस्थित कृषि फार्ममा इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको ज्यान गएको हो । बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लन एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न एक महिनाअघि मात्रै इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ मध्ये १० विद्यार्थीको ज्यान गएको हो । एक विद्यार्थी अझै बेपत्ता छन् ।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले आइतबार किबुज अलुमिम फार्ममा रहेका नेपाली विद्यार्थीको निधन भएको पुष्टि गरेकी छिन् । मृतकको शव स्वदेश लैजान तथा त्यहाँ रहेका नेपालीको उद्धारका लागि छलफल भइरहेको जानकारी दिइन् ।
नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई मृतक, घाइते र बेपत्ता भएका नेपालीको सूची पठाएको छ । परराष्ट्र मन्त्रालयले प्राप्त गरेको सूचीअनुसार कैलालीको घोडाघोडी नगरपालिका– ४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका– ६ का गणेशकुमार नेपाली, कैलाली बौनियाँका आशिष चौधरी, दार्चुलाको लेकम गाउँपालिका– ५ का दीपेशराज विष्टको मृत्यु भएको छ ।
त्यस्तै, डोटीको तत्कालीन पचनली गाविस– ३ का राजन फुलारा, डोटीकै तत्कालीन लामिखाल गाविस– ८ का पदम थापा र सल्यानको शारदा नगरपालिका– ३ का प्रवेश भण्डारीको मृत्यु भएको छ । त्यस्तै, दार्चुलाको मालिकार्जुन नगरपालिका– ४ का लोकेन्द्रसिंह धामी, धनुषाको तत्कालीन सपही गाविस– ६ का आनन्द साह र सुनसरीको तत्कालीन मधुवन गाविस– १ का राजेशकुमार स्वर्णकारको मृत्यु भएको छ ।
