घोराही । गौमाता रक्षाका लागि घोराहीमा महायज्ञ सञ्चालन हुने भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा यही असोज २८ गतेदेखी कार्तिक ५ गतेसम्म घोराहीमा महायज्ञ सञ्चालन हुने भएको हो ।
आयोजक मूल समितिले महायज्ञको बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर उपमहानगरपालिका १८ मा सञ्चालन गरेको गौशाला व्यवस्थापन लगायत गाईहरुको आहार व्यवस्थापनकालागी महायज्ञ आयोजना गर्न लागिएको आयोजक मूल समितिका संयोजक एवं श्री योगी आदित्यनाथ फाउण्डेशनका अध्यक्ष भरतनाथ योगीले जानकारी दिए ।

गौशालामा रहेका ५ सय बढि असहाय, बेसहारा, सुत्केरी गौमाताहरुको विगत दुई वर्षदेखि फाउण्डेशनले पालन पोषण गरिरहेको र हरेक दिन बेसाहारा गाईहरुको संख्या बढ्दै गएकाले थप व्यवस्थापन गर्न कठिन भएका कारण सबैको सल्लाहमा महाय सञ्चालन गरिएको योगीले जानकारी दिए ।

गैशालामा रहेका गौमाताहरुको संरक्षण तथा बसाई व्यवस्थापन, आहारा व्यवस्थापन लगायत राष्ट्रिय जनावर गाईको महत्व समाजमा स्थापीत गर्नकालागी ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती धार्मिक दशै महोत्सव’ आयोजना गरिएको र महायज्ञको तयारी तीव्र रुपमा अगाडी बढाईएको मूल आयोजक समितिका संयोजक भरतनाथ योगीले जानकारी दिनुभयो । महायज्ञको तयारी अन्तरगत विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएको र ती समितिहरुले आफ्नो काम तीव्र रुपमा अगाडी बढाएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
पत्रकार सम्मेलनमा महायज्ञका सल्लाहकार समितिका संयोजक डा.भोलानाथ योगीले हिन्दु धर्म अनुसार हरेक घरमा गाई हुनुपर्छ भनिएको तर आधुनिकतासँगै गाई संरक्षणमा ध्यान जान नसक्दा राष्ट्रिय एवं धार्मिक जनावरको संरक्षण एवं व्यवस्थापन गर्न आवश्यक भएको महसुश गरेर यस महायज्ञको आयोजना गरिएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले राष्ट्रि« जनावर एवं हिन्दु धर्मसँग जोडीएको गौमाताको संरक्षणका लागि आयोजना गरिएको महायज्ञ सफल बनाउनु सबै हिन्दु धर्मालम्बीहरुको दायित्व भएकाले यसलाई सफल बनाउनकालागी सञ्चार क्षेत्रले साथ र सहयोग प्रदान गर्ने बताए । कार्यक्रमको सहजिकरण महायज्ञका प्रचार प्रसार समिति संयोजक आर.के.शीतलले गरेका थिए ।