काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ डिजेल र मट्टितेलमा प्रतिलिटर छ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
त्यसैगरी हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाइएको निगमले जनाएको छ । बढेको मूल्य आज राति १२ः०० बजेपछि लागू हुनेछ ।
यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर रु दुई हजार एक सय १० पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग ९चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोबाट बिक्री हुने ठाउँमा प्रतिलिटिर एक सय ८२ दशमलव पाँच, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा एक सय ८४ र काठमाडौँ, पोखरा र दिपायलमा एक सय ८५ पुगेको छ ।
त्यसैगरी डिजेलको मूल्य पहिलो वर्गमा एक सय ७६ दशमलव पाँच, दोस्रो वर्गमा एक सय ७८ र तेस्रो वर्गमा एक ७९ प्रतिलिटर कायम भएको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ४४ र अन्तर्राष्ट्रियको मूल्य एक दशमलव ९५ अमेरिकी डलर कायम भएको छ ।
