भैरहवा। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग र पर्खालभित्र पर्ने जग्गा व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ ।

हदबन्दीका कारण फिल्ड बुकमा भए पनि कसैको नाममा दर्ता नरहेको करिब ५ विघा जमिन मिलेमतोमा गत बैशाखमा सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराज कान्त मिश्रको नाममा मालपोत कार्यालयले दर्ता गरिदिएको पाइएको हो ।

जग्गा दर्तापछि मिश्रले विमानस्थलको अधिग्रहणमा आफ्नो जमिन परेको भन्दै मुआब्जाका लागि विमानस्थल आयोजना कार्यालयमा निवेदन दिए पछि घटना बाहिर आएको हो । सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराज कान्त मिश्र नेपालमा बस्दैनन् । उनी भारतको गोरखपुरमा बस्दै आएका छन् । तर, भैरहवादेखि स्याङ्जासम्मका भूमाफियाले उनै मिश्रलाई प्रयोग गरेर हदबन्दी भन्दै सिद्धार्थनगर–१० स्थित काली मन्दिरलाई जग्गा धनी सुर्जा मिश्राइनले २०२२ पुस २० मा उपलब्ध गराएको जमिन अहिले मालपोतको मिलेमतोमा मिश्रको नाममा दर्ता गरिएको हो ।

सातवटा कित्तामा रहेको ४ विघा १७ कठ्ठा ६ धुर जमिन २०८० बैशाख ८ गते मालापोत कार्यालय, रुपन्देहीले मिश्रको नाममा दर्ता छ । मिश्रले त्यसपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अधिग्रहणमा आफ्नो जमिन परेको भन्दै  विमानस्थल आयोजना कार्यालयमा मुआब्जाका लागि निवेदन दिएका थिए ।