काठमाडौं । चिनियाँ तस्करले प्रशासनको कमजोर उपस्थिति भएका उत्तरी नाकाबाट सुन तस्करी थालेका छन् । सुरक्षा उपस्थिति नभएका उत्तरका नाकाबाट स्थानीय बासिन्दालाई संलग्न गराएर तस्करीको सुन नेपाल भित्र्याएको पुष्टि भएको हो ।

दोलखाको बिगु गाउँपालिका–१ मा पर्ने चीनको रोङजिया नाका हुँदै भित्रिएको चार केजी सुनसहित बुधबार एकै गाउँका पाँच जना पक्राउ गरेपछि तस्करीको नयाँ रुटबारे खुलेको हो ।

सूचनाका आधारमा बिगु–३ जामुनेमा सीता तामाङको घरमा डेरा बस्ने बिगु–१ लामाबगरका २८ वर्षीय केशर तामाङको कोठाबाट ४ केजी सुन प्रहरीले बरामद गरेको थियो । त्यसकै आधारमा बुधबार राति ३ र बिहीबार दिउँसो २ जना गरी ५ जना पक्राउ परेका छन् ।

तस्करीमा संलग्न आरोपमा तामाङसहित बिगु–१ लामाबगरकै १८ वर्षीय पेम्बा तामाङ, २० वर्षीय माधव मगर, लामाबगरकै ५५ वर्षीय नुर्वछिरिङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरिएको हो आजको कान्तिपुरमा खबर छ। पेम्बा र माधवले उक्त सुन नेपाल–चीन सीमा रोङजियाबाट ल्याएको प्रहरीलाई बयान दिएका छन् । उक्त सुन पेम्बाले केशरलाई दिएको खुलको छ । सुन काठमाडौं लैजान नुर्व र सुनमाला चरिकोट आएका थिए ।