दाङ । दाङमा एक जनाले खुकुरी प्रहार गरेर एक महिलाको हत्या गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराका अन्दाजी ४२ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गरी स्थानीय ४३ वर्षीया रिता लामिछानेको हत्या गरेका हुन् । हमालले शनिबार २ बजेतिर लामिछानेमाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिएका छन् । घरमै बसेर कपासको बत्ती बनाइरहेकी लामिछानेलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । खुकुरी प्रहारबाट स्थानीय ६५ वर्षीया चन्द्रकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल गम्भीर घाइते भएका छन्। उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हमालले देउता चढेको भन्दै खुकुरी प्रहार गरेको बताइएको छ ।
खुकुरी प्रहार गर्ने हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घरबाट खुकुरी लिएर निस्किएका हमालले बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











