काठमाडौँ । नेपाल आयल निगमले मोतिहारी–अमलेखगन्‍ज पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढाइएको छ ।

यो परियोजनाको काम सम्पन्न भएमा आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात हुने छ । आगामी अप्रिल अर्थात् चैत महिनासम्म पाइपलाइनबाट पेट्रोल र मटितेल ल्याउने गरी पूर्वाधार निर्माणको काम अगाडि बढाइएको नेपाल आयल निगम अमलेखगन्ज कार्यालयले जनाएको छ ।

यस परियोजनाको पहिलो चरणको काम सम्पन्न भएर २०७६ भदौ २४ देखि पाइपलाइनबाट डिजेल आउन सुरु भएको थियो । अहिले भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ । स्टोरेज ट्याङ्क नभएका कारण पाइपलाइनबाट पेट्रोल ल्याउन सकिएको छैन । नेपाल र भारत सरकारबिच भएको सम्झौता अनुसार दोस्रो चरणको निर्माणको काम इन्डियन आयल कर्पोरेसन (आइओसी) ले गरिरहेको छ ।

निगमको अमलेखगन्ज डिपो कार्यालयका प्रमुख विनीतमणि उपाध्यायले दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिए । तोकिएको समयभित्र सक्ने गरी पूर्वाधार निर्माणको काम अगाडि बढिरहेको छ ।

दोस्रो चरणको काम अन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्समिक्स ट्याङ्क, पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर) लगायत भौतिक संरचनाको निर्माण भइरहेको छ ।