दाङ । दाङमा जङ्गली जनावरका कारण किसानलाई बाली जोगाउनै समस्या भएको छ। जङ्गल नजिक बसोबास गर्ने किसान जङ्गली जनावर बँदेलबाट पीडित बन्दै आएका छन्। भर्खर घोगा लागेको मकैमा बँदेलले क्षति पुर्याउन थालेपछि किसान रातभर थाल तथा ढोल बजाएर जाग्राम बस्न थालेका छन्।

बङ्गलाचुली गाउँपालिका, बबई गाउँपालिका, घोराही उपमहानगरपालिका–१९, तुलसीपुरको वडा नं। ३, ४ र ७ का विभिन्न स्थानमा किसानको बारीमा लगाएको मकै बँदेल र बाँदरले क्षति पुर्याएको छ । तुलसीपुर उपमहानगरपालिका–७ का ईश्वरी वलीले जङ्गली जनावरका कारण घोगा लाग्दै गरेका मकै जोगाउनै समस्या परेको बताए ।

“बँदेल मार्न पाउनुपर्ने कानुनी व्यवस्था गरिदिनुपयो। नत्र स्थानीयले मेहनत अनुसारको लगानी उठाउने अवस्था छैन”, उनले भने । जङ्गली जनावरण नियन्त्रणका लागि वडा कार्यालय र वन कार्यालयसँग आग्रह गरिए पनि किसानको समस्यालाई गम्भीरतापूर्वक नलिइएको उनको भनाइ छ ।

ईश्वरी मात्रै होइन तुलसीपुर उपमहानगरपालिका–७ अन्तर्गत गणेशपुर, तमाखे, घुसरी, तुलसीपुर–४ का मजुवा, रक्षाचौर, तुलसीपुर–३ को रानागाउँ, गोठीखोलगायतका गाउँमा बँदेलका कारण मकैबाली जोगाउनै समस्या छ। त्यस्तै बङ्गलाचुली गाउँपालिका, बबई गाउँपालिका पनि यस्तै समस्या छ ।