देउखुरीका महिलाहरु महिला हिंसा न्यूनीकरणमा जुटेका छन् । मधेसीलगायत अन्य समुदाय समेतको मिश्रीत बसोबास भएको गढवाका महिलाहरु बाल विवाह र बहुविवाह न्यूनीकरणमा जुटेका हुन् । मिश्रीत समुदायको बासोबास रहेको गढवामा अत्यधिक बालविवाह र बहुविवाह हुने गरेको गढवाका रेखा थापाले बताउनुभयो । बालविवाह र बहुविवाह न्यूनीकरणमा सबै समुदायका महिलाहरु जुटेको उहाँले बताउनुभयो ।

mahila-worker-e1427895531850महिला अगुवा नन्दकला आचार्यले समुदायमा ब्याप्त कुरितीका रुपमा रहेको बालविवाह र बहुविवाह न्यूनीकरण गर्न मेलमिलाप कर्ता, सहयोगी समूह, पारालिगल, महिला विकास समूहलगायत अभियानमा जुटेको बताउनुहुन्छ । उनीहरुको अभियानमा सेलर्डले हातेमालो सुरु गरेको छ । महिलाहरुलाई सशक्तिकरण गरी अभियानलाई सफल बनाउन सेलर्ड लागिपरेको जिल्ला संयोजक मोहन धितालले बताउनुभयो । सेलर्डको आयोजनमा गढवामा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।

बिपन्न र सिमान्कृत समुदायको सवलीकरण सुरक्षा र न्यायमा पहुँच स्थापना कार्यक्रमअन्तर्गत सामुदायिक कानुनी सहायता स्वयंसेवकका लागि आयोजना गरिएको अभिमुखीकरणमा गढवा गाविस कार्यालयका प्रतिनिधि रामनरेश यादवले गाविसमा महिला हिंसाका घटना अत्यधिक हुने गरेको बताउनुभयो । गाविसमा प्रत्येक हप्ता ३ वटासम्म महिला हिंसाका घटना हुने गर्छन्,तर न्याय प्रदायक निकायबाट सन्तोषजनक सेवा प्रवाह हुन नसकेको बताउनुभयो । विभिन्न समुदायका २० जना महिलाहरुको सहभागिता रहेको अभिमुखीकरणको सहजकर्तामा पत्रकार सुशील बस्नेत र अधिवक्ता रविन्द्र धिताल हुनुहुन्छ ।।