अभिषेक बोहरा / दाङ : नर्सिङ पेसा बाहिरबाट हेर्दा जति सजिलो र आकर्षक देखिन्छ, त्यति सजिलो पक्कै पनि छैन। ज्यानलाई धरापमा राखेर काम गर्नुपर्ने बाध्यता छ। तर पनि बिरामी, बिरामीका आफन्त, डाक्टर, अस्पताल प्रशासन सबैको आँखाको तारो बनिरहेका छन्, नर्सहरु।

एक जना नर्सले ३०-४० बिरामी हेर्नुपर्ने अवस्था छ। त्यसमा पनि कुनै बिरामी तथा बिरामीका आफन्तले बोलाउँदा तुरुन्तै पुगेन भने नर्सहरुले अनेक आरोप खेप्नुपर्छ। डाक्टर समयमा आएनन्, नर्सलाई गाली। ल्याबले रिपोर्ट ढिलाइ गर्यो, नर्सलाई तनाव। अस्पताल महँगो भयो, ट्वाइलेट सफा भएन; आक्रोशजति नर्सलाई।

तपाईं नै भन्नुस् न, एक जना नर्सले कति काम गर्न सक्छ? अझ नर्स छुच्ची हुन्छन्, घमन्डी हुन्छन्, नर्सले गर्दा बिरामी तलमाथि भयो भनेर भनेर बिरामीका आफन्त कराउन अघि सर्छन्। जति नै मन-वचन-कर्म लगाई लगनशीलतासाथ काम गरे पनि नर्सलाई न त बिरामीले बुझ्न सके, न तिनका आफन्तले। अस्पताल प्रशासनले समेत नर्सको समस्या बुझ्नदैन ।

बिरामीको पीडा सुन्ने, सधैं अरुको सेवामा खट्ने नर्सहरु वास्तवमा खुसी छन् कि छैनन्? नर्सहरुको समस्या के छ भनेर सोधिदिने न कुनै निकाय निस्किए, न त सरकारले नै चासो राख्यो। नर्सहरु सधैं आर्थिक, शारीरिक रुपमा शोषित छन्। उनीहरुको श्रम शोषण गरिएको छ। चरम मानसिक यातना खेपिरहेका छन्।

धेरै जोखिम मोलेर काम गर्नुपर्ने हुन्छ। तर, सरकारी निकायमा होस् या निजी क्षेत्रमा, जोखिम भत्ताको कार्यान्वयन छैन। दुई सय वर्षअघि जन्मिएकी फ्लोरेन्स नाइटिङ्गेलले गरेका काम र उनले अपनाएका सिद्धान्तहरु आज पनि उत्तिकै सान्दर्भिक र महत्वपूर्ण छन् । त्यो वेलाको कठिन परिस्थितीमा पनि नर्सिङ्ग पेशालाई जिवन्त र उदाहरणीय बनाउने कार्य नभइदिएको भए आज स्वास्थ्य क्षेत्रमा नर्सिङ्ग पेशा हुनेथियो भनेर सोच्न सकिदैन ।

अति काम, न्यून तलब। धेरै गाली, थोरै जस। बेटुंगो ड्युटी, कामको जोखिम मनलाग्दी तलब तोकेर काम गर्न दबाब दिने र त्यही तलबमा काम नगरे अरु जत्ति पनि काम गर्ने नर्स पाइन्छ भनेर धम्की दिनेहरू पनि कम छैनन्। यो अवस्था किन आयो? राज्यले सोच्ने कहिले?

लाखौं लगानी खर्चंदै नर्स बन्छु भन्ने सपना बोकेर पढ्नेहरूलाई एक पटक सोध्ने कि? के यो पेशा साच्चै नै सरल छ त?अझ नेपालमा नर्सिङ पेशाको भबिस्य नै नदेखेर विदेश पलायन हुने लर्को दिनप्रति दिन बढी नै रहेको छ! यो अबस्था बाट अझै पनि सम्बन्धित निकाय चुपचाप लागेकै हो त?