दाङ। दाङमा अहिलेसम्म ४७ प्रतिशत मात्रै रोपाइ भएको छ । आवश्यकता अनुसार समयमा वर्षात नहुँदा साउनको आधा समय वित्तिक्दा समेत आधा पनि रोपाइ भएको छैन ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा हालसम्म ४७ प्रतिशत खेतमा मात्रै धान रोपाइ सम्पन्न भएको छ । अझ ५३ प्रतिशत खेतमा रोपाइ हुन सकेको छैन ।

सिँचाइको सुविधा नहुँदा जिल्लाका अधिकांश ठाउँ रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिएका छन् ।

ढिलागरी सुरु भएको वर्षाका कारणले रोपाइँमा समेत ढिलाइ भएको र रोपाइका लागि ब्याड तयार भए पनि सिँचाइको अभावका कारण अधिकांश ठाउँमा खेत बाँझै छन् ।

जिल्लामा खेतीयोग्य जमिन ३९ हजार ४ सय हेक्टरमध्ये हालसम्म ४७ प्रतिशत धान रोपाइँ भएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले कमी हो । गतवर्ष साउनको पहिलो सातासम्म जिल्लामा करिब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

जिल्लाको देउखुरी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिकामा धान रोपाइँ करिब सकिए पनि दाङ उपत्यकाको घोराही, तुलसीपुरसँगै दंगीशरण, शान्तिनगर लगायतका क्षेत्रमा अधिकांश ठाउँमा खेत बाँझै रहेको छ ।