काठमाडौँ । हङकङबाट क्याथे प्यासिफिकको जहाजमा भित्र्याएर भन्सार पार गराइसकेको करिब १ क्विन्टल सुन सिनामंगल सडकबाट बरामद हुनुअघि नै तस्करले त्योभन्दा ठूलो परिमाणमा सुन फुत्काएको देखिएको छ ।
भारत, चीन, हङकङ र नेपालमा सक्रिय संगठित गिरोहले स्कुटरमा प्रयोग हुने ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको सुन भन्सारका कर्मचारी, भन्सार एजेन्ट र बिचौलियालाई हातमा लिएर उम्काएको अनुसन्धानमा पाइएको हो । राजस्व अनुसन्धान विभागले ठमेलको एक घरमा छापा मार्दा फेला पारेको सुन निकालिएका र कार्टुनभित्र प्याक गरिएका ब्रेक सु ।
हङकङबाट रेडी ट्रेडका नाममा असार २९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको ८ कार्टुन सामान राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको संयुक्त टोलीले साउन २ मा सिनामंगल सडकबाट बरामद गरेको थियो । त्यस क्रममा भन्सार एजेन्ट र ट्याक्सी चालक पक्राउ परेका थिए ।
बरामद सामान खोलेर हेर्दा करिब १ क्विन्टल सुन भेटिएपछि थप अनुसन्धान गर्ने क्रममा विभागको टोलीले गिरोहको सेल्टर रहेका कमलपोखरी, बालुवाटार, लाजिम्पाटर पानीपोखरी र ठमेलमा बुधबार छापा मारेको थियो । ठमेलको एक घरमा ६६ कार्टुन ब्रेक सु भेटिएकामा धेरैजसो खोक्रा मात्रै पाइएको छ । ब्रेक सुसँगै सुन जोख्ने ढक–तराजु पनि भेटिएको छ । चिनियाँ गिरोहले सेल्टर लिएको लाजिम्पाटस्थित एक घरबाट दाह्री काट्ने उपकरण ९सेभर० बरामद गरिएको छ ।
ती सबै ब्रेक सु रेडी ट्रेडकै नाममा भित्रिएका थिए । सामान रेडी ट्रेडले आफ्नै कार्यालय वा तोकिएको गोदाममा लैजानुपर्नेमा चिनियाँ र भारतीय गिरोहले सेल्टर लिएको ठाउँमा पुर्याउनुले तस्करीको सुन व्यवस्थापनकै लागि उक्त फर्म खोलिएको देखिने अनुसन्धान अधिकारीहरूको भनाइ छ । छापा मार्ने क्रममा चिनियाँ नागरिक बसेको बालुवाटारको कोठाबाट सुन गाल्ने उपकरण पनि बरामद भएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । ‘विमानस्थल भन्सारबाट जाँचपास भइसकेपछि बरामद सुनभन्दा यो परिमाण धेरै हुन सक्ने देखिन्छ,’ उनले भने । कान्तिपुरबाट











