दाङ । राप्ती गाउँपालिकास्थित प्रगन्ना सिंचाई कुलो सफाइ गर्ने क्रममा भएको नदीजन्य वस्तुको उत्खनन्मा सेटिङ मिलाउन ठेकेदारहरुले पत्रकारहरुलाई पनि रकम बुझाएको भन्ने ठेकेदारले सामाजिक सञ्जालबाट आरोप लगाएपछि नेपाल पत्रकार महासंघ दाङले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
महासंघको शनिबार बसेको बैठकले अध्यक्ष दुर्गालाल केसीको संयोजकत्वमा उपाध्यक्ष सन्तोष सुवेदी र कार्यसमिति सदस्य उदय विसी सम्मिलित तीन सदस्यीय समिति गठन गरेको हो । समितिलाई असार ३१ गतेभित्र घटनाको विषयमा छानबिन गरी प्रतिवेदन पेश गर्न समय तोकेको छ ।
महासंघका साधारण सदस्य सन्तोष गुप्ता र अन्य दुईजनालाई पत्रकार भन्दै ठेकेदारले रकम बुझाएको आरोप लागेको छ । बैठकले रकम लेनदेनको विषयमा महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै घटनाबारे अनुसन्धान गरी दोषीमाथि कारवाही लागि सम्बन्धित निकायसँग माग गरेको छ ।
“राप्ती गाउँपालिकाको प्रगन्ना सिँचाई कुलो खन्ने जिम्मेवारी लिएको अनन्त कन्ट्रक्सन प्रालिले ढुंगाजन्य पदार्थ उत्खनन् गर्दा केही पत्रकार लगायत जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख, जनप्रतिनिधी लगायतका व्यक्तीलाई रकम बाँडेको घटना सार्वजनिक भएकोप्रति नेपाल पत्रकार महासंघ दाङ शाखाको गम्भिर ध्यानाकर्षण भएको छ । यस घटनाबारे आवश्यक अनुसन्धान गरि दोषीलाई कार्वाही गर्न सम्बन्धीत निकायसँग जोडदार माग गर्दछौ”, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
“साथै कुनै पनि अवैध कामको ढाकछोप गर्ने वहानामा पत्रकारका नाममा कुनै पनि रकम दिने काम नगर्न र कसैले रकम मागेमा तत्काल नेपाल पत्रकार महासंघमा जानकारी गराउन सम्बन्धित सबैलाई आह्वान गर्दछौ”, विज्ञप्तिमा उल्लेख छ ।












