दाङ । लगातार एक/दुई घण्टा अविरल वर्षा हुनपर्छ घोराही बजार जलमग्न बन्छ । घोराहीको मूख्य सडक शहिद गेट, पिपी चोकदेखि शहिद गेटसम्मको मुख्य रोडमा बढी समस्या देखिन्छ । सडकभन्दा माथि नाली निर्माण गरिनु, सडकको पानीलाई नालीमा निकास नहुनु, सडकको तह बनाउदा मनोमानी बनाउनुलगायतले गर्दा यस क्षेत्रमा पानी पर्यो कि जलमग्न भइदिन्छ ।

हिजो शनिवार बेलुकातिर परेको वर्षातका कारण हरेक वर्ष जस्तै यो क्षेत्र जलमग्न नै देखियो । सडकमा पानी जम्मा हुदा सवारी साधनका प्रभाव पर्यो भने पैदलयात्रीले पनि सास्ती नै भोग्नु पर्यो । सडक किनाराका पसल सञ्चालकहरु मेरो पसलमा कति खेर पानी पस्छ भनेर चिन्तित हुनुपर्यो ।

त्यसैगरी बजारका नालाहरु समय समयमा सफा नहुदा पानी परेको समयमा समस्या आउने पनि गरेको छ । नालामा फोहर फाल्दा पानीले बगाउने र नाला साधुरो अथवा हुमपाइप हालेको ठाउँमा गएर फोहोर अड्किदा पानी वाहिर आउने गरेको छ । यी सबै समस्या यहाँको स्थानीय तह अथवा सम्बन्धित निकायहरुले दिर्घकालीन योजना विनै काम गर्नले समस्या आउने गरेको स्थानीयको गुनासो छ ।