नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले अनशनरत डा। गोविन्द केसीलाई भेटेर फेरि अनशन बस्न नपर्ने व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार बिहान डा। केसीलाई भेट्न प्रभाकर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज गएका थिए । पार्टीले नै प्रभाकरलाई डा। केसीलाई भेट्न भनेर अस्पताल पठाएको थियो ।
डा. केसीलाई भेटेपछि प्रभाकरले भने, ‘तपाईं फेरि अनशन बस्न नपर्ने व्यवस्थाका लागि पार्टी र सरकार दुबै ठाउँमा जोडदार पहल गर्नेछु ।’केसी धेरै बोल्न सक्ने अवस्थामा थिएनन् । त्यसैले उनले धन्यवाद मात्रै भनेको प्रभाकरले बताए । उनले केसीका जायज माग सम्बोधन हुनुपर्ने बताए ।
‘सरकारले सम्झौता गरेपछि माग पूरा गर्नुपर्छ । त्यसमा सरकार जवाफदेही हुनुपर्छ,’ प्रभाकरले भने, ‘उहाँले उठाएका माग बेठीक छैनन् । हाम्रो पार्टी सकारात्मक छ । तर, चिकित्सा क्षेत्रका जनशक्ति नेपालमै उत्पादन हुनुपर्छ । विदेश पढ्न जान नपरोस् भन्ने कुरामा हामी सचेत हुनुपर्छ ।’
उनले थपे, ‘काठमाडौंमा मात्रै नभइ जुम्ला, हुम्ला, डोल्पा, कालिकोट, ताप्लेजुङ, पाँचथर, ओखलढुंगा लगायतका दुर्गम जिल्लामा पनि पढ्ने वातावरण हुनुपर्छ । निजी शैक्षिक क्षेत्रलाई नै रोक लगाउनु भन्दा तिनीहरुलाई नियमन गर्नुपर्यो, अनुगमन गर्नुपर्यो, सरकारी संयन्त्र बलियो हुनुपर्यो ।’