जाजरकोट, १० साउन ।
सानो झुप्रो । त्यही पनि पानी चुहिने । त्यही झुप्रोमा ५ जनाको परिवार । घर भित्र न त खानाको जोहो छ न आनन्दसँग सुत्ने ओछ्यान । ज्याला मजदुरी गरेर अन्न ल्याएका दिन चुल्हो बल्छ नत्र भोकै सुत्नुपर्छ जाजरकोट ढिमे २ मालुमेला बस्ने रुपा विश्वकर्माको वास्तविक कथा हो यो ।
रुपाको १५ बर्षको उमेरमा डोल्पा लहँका बुद्धिबहादुर नेपाली सँग विहे भयो । ३ छोरी १ छोरा जन्मिए । दुःख सुख गरेरै भएपनि परिवार जेनतेन चलिरहेको थियो । विवाह भएको सात बर्षमै श्रीमानको मृत्यु भयो । मृत्यु पछि घरपरिवारको आर्थिक अवस्था पनि निकै नाजुक भएका कारण छाक टार्न पनि समस्या भएपछि रुपा चारजना लालावाला लिएर माईतीघर जाजरकोट ढिमे आईन तर यहाँ पनि उनलाई गाँस र वासको समस्याले छोडेन ।jkt

माईतीको अवस्था पनि उस्तै जग्गा जमिनको नाममा एक टुक्रो पाखोवारी मात्र । दैनिक ज्याला मजदुरी गरेर खाने । तै पनि छोरीलाई वस्ने ओत दिए माईतीले तर न त हातमा सीप छ न काम गरौ भने खेतवारी नै छ । म कसरी यी केटाकेटी पालौं रुपाले दुःख प्रकट गर्दै भनिन यी केटाकेटीको पढाई खर्च कहाँबाट जुटाउँ ।
म त साह्रै समस्यामा परे । पढ्ने उमेरमा सानैमा विहे गरियो ।

विहे गर्ने उमेरमा विधुवा हुनु पर्यो अझ साथमा रहेका चार जना छोराछोरीको लालनपालन र पढाईलेखाई कसरी गरुँ ? जेठी छोरी पार्वती ९ बर्ष, माईली छोरी चन्द्रा ८ बर्ष, कान्छि छोरी रेखा ४ बर्ष र छोरा अनिल ३ बर्षका भए । उनले भनिन गाँउलेहरुको गहँु, मक,ै धान गोड्ने रोप्ने काट्ने काम गर्छु कसैले अन्न दिन्छन कसैले पैसा दिन्छन त्यसैवाट गुजारा चलाईरहेकी छु ।

भर्खर २५ बर्षको भएँ श्रीमान वितेको ३ बर्ष भो । जिन्दगी अझै धेरै लामो छ कसरी वित्ने हो केही थाह छैन उनले भनिन् । कसैले सीपमुलक तालिम दिएको भए र छोराछोरीलाई पढाउने ब्यवस्था मिलाईदिएको भए आफ्ना लागी ठुलो राहत हुने उनले बताईन । मिठोमसिनो खाने, राम्रा कपडा लगाउने त हाम्रा लागी सपना भए दुई छाक गाँस र एक सरो शरिर ढाक्ने टालोको लागी संघर्ष गरिरहनु परेको छ रुपाले दुःख सुनाउदै भनिन् ।।