भैरहवा । अब १०० बढीका सामानमा भन्सार अनिवार्य तिर्नुपर्ने छ । उद्योगी व्यवसायीको व्यापक दबाबपछि सीमापारी बजार गर्न जाने उपभोक्ताका लागि भन्सार नाकामा कडाइ गर्न थालिएको छ ।
भारतीय बजारमा किनमेल गर्न जाने उपभोक्ताका लागि भन्सार तिरेर मात्रै सामान नेपाल भित्र्याउन दिइएको छ । भन्सार पास नगरी सामान नेपाल भित्र्याउँदा स्वदेशी बजार प्रभावित भएको र उपभोक्ताहरू दिनहुँ सुनौलीमा बजार गर्न जाने क्रम बढेपछि प्रशासनले उपभोक्तालाई नाकामा लाइन लगाएरै भन्सार तिराउने व्यवस्था मिलाएको हो ।
घरायसी प्रयोजनका लागि भन्दै दैनिक हजारौँ नेपाली उपभोक्ता सीमा पारीको सुनौली, नौतनवा बजारमा किनमेल गर्न जाने गरेका छन् । उनीहरूले बिना भन्सार मालसामान नेपाल भित्र्याउँदा स्वदेशी बजार प्रभावित भएपछि सीमा नाकामा कडाइ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
सीमावर्ती बजारबाट किनमेल गरी सामान लिएर फर्केका सबै उपभोक्तालाई लाइन लगाएर भन्सार कार्यालयमा ल्याइ भन्सार तिर्ने वातावरण तयार गरिएको छ । घरायसी प्रयोजनका नाममा बिना भन्सार भित्रिएका कतिपय सामानको व्यावसायिक कारोबार समेत हुन थालेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।











