दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । आज शुक्रबार ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

लुम्बिनी प्रदेश सरकारले ५ वर्षमा कम्तीमा २ लाख रोजगारी सिर्जना गर्ने गरी व्यावसायिक कृषि, उद्योग र सिपमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याउन लागेको छ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सन्तोष पाण्डेले सरकारले अबको ५ वर्षमा कम्तीमा पनि २ लाख जनतालाई रोजगारी दिने गरी नीति कार्यक्रम र बजेट तयार गरेको बताए ।

त्यस्तै सरकारले प्रदेशमा रहेका वन, नदी र खानीको उत्पादनलाई व्यावसायिक प्रयोग गर्ने र त्यसबाट सीमान्तीकृत समुदायले आर्थिक लाभ लिने गरी नीति तय गर्न लागेको छ ।