बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार निजी क्षेत्रसँगको सहकार्यबिना देशमा समृद्धि सम्भव छैन भन्ने कुरामा स्पष्ट रहेको बताउनुभएको छ । मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको निजी क्षेत्रलाई लगानी एवं व्यवसायका क्षेत्रमा आइपर्ने जस्तासुकै समस्या हल गर्न सरकार सदैव तत्पर रहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले आज बुटवल हिल्सद्वारा प्रवर्द्धित लुम्बिनी केबलकारको उद्घाटन गर्दै आफू नेतृत्वको सरकारले देश विकास र समृद्धिको यात्रामा निजी क्षेत्रलाई साथ लिएर अघि बढ्न चाहेको बताउनुभयो ।“म निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीका सम्भावनालाई हरेक समय खुला राख्ने पक्षमा छु”, उहाँले भन्नुभयो, “कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रको विकासका लागि आर्थिक क्रान्ति जरुरी भइसकेको छ ।” उहाँले सरकारले यसअघि निजी क्षेत्रका लागि विभिन्न आर्थिक प्याकेज ल्याएको समेत बताउनुभयो ।

उहाँले बुद्धको जन्मस्थल लुम्बिनी जस्तो महत्वपूर्ण स्थानमा केबलकार तथा पाँचतारे होटलसहित पर्यटकीय संरचना निर्माण गर्दा यहाँको स्थानीय मात्र नभएर राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रको बहुआयामिक विकासका निम्ति भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्ब्याउन सरकारले आवश्यक नीति अवलम्बन गर्ने जानकारी दिनुभयो ।

उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई सङ्कटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सञ्चालन गर्ने निर्णय गरिएको र यसले अर्थतन्त्र सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । उहाँले उच्च मुद्रास्फीति र अस्थीर ब्याजदरले असर पारेको भन्दै यसका लागि सरकारले उपयुक्त कदम चाल्ने विश्वास दिलाउनुभयो ।उहाँले अब देश विकासको मोडलबारे पुनर्विचार गर्न आवश्यक रहेको धारणा राख्नुभयो । “हालसम्मका योजनाबद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, समावेशीता जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए पनि उत्पादन र रोजगारीको क्षेत्रमा भएको प्रगति उत्साहजनक छैन”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले साझा सङ्कल्प भए मात्रै विकास र समृद्धिमा गुणात्मक सुधार ल्याउन सकिने स्पष्ट पार्नुभयो । उहाँले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै भारत भ्रमणका क्रममा पनि आफूले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानीका लागि आह्वान गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बुटवल र पाल्पा जोड्ने गरी निर्माण गरिएको केबलकारले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा पर्यटन विकासका प्रशस्तै सम्भावना भए पनि यसको प्रवर्द्धनमा ध्यान पुग्न नसकेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासमा यस खालको पूर्वाधारको निर्माणले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस क्षेत्रको पर्यटकीय विकासका लागि बुद्ध जन्मस्थल लुम्बिनी महत्वपूर्ण सम्पदा रहेको र यसको गुरुयोजना पूरा गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले लुम्बिनी क्षेत्रको विकास र समृद्धिका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, बुटवल–गैँडाकोट राजमार्ग विस्तार, सिद्धबाबा सुरुङमार्ग निर्माण, अन्तर्राष्ट्रिय सभाहल निर्माणजस्ता विकासका पूर्वाधारसँगै निजी क्षेत्रबाट निर्माण भएका यस खालको पूर्वाधार सहयोगी बन्ने बताउनुभयो ।

त्यस अवसरमा भारत उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेकोले आफ्नो प्रदेशका नागरिकका लागि पनि राम्रो पर्यटकीय गन्तव्य बनेको बताउनुभयो ।तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले केबलकार सञ्चालनले गाउँपालिकाको विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो । उहाँले तिनाउका स्थानीयलाई यहाँ उत्पादित कृषि उपजको बजार खोज्न अब अन्यत्र पुग्न नपर्ने अवस्था आएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्माले बुटवलबाट पाल्पाको हिलस्टेशन वसन्तपुरमा केबलकार सञ्चालनले रुपन्देहीको व्यापार व्यवसायमा सुधार आउने अपेक्षा रहेको बताउनुभयो । उहाँले यसबाट सिङ्गो निजी क्षेत्रले पर्यटन प्रवर्द्धनका लागि उत्साह जगाएको र यस क्षेत्रको आर्थिक गतिविधि थप उजागर हुने अपेक्ष गरिएको बताउनुभयो ।लुम्बिनी केबलकार कूल रु साढे तीन अर्ब लगानीमा निर्माण भएको हो । केबलकारको बटम स्टेशन बुटवल–३ बमघाट र टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा छ ।