सल्यान । वेमौसमी तरकारी खेतीका लागि प्रसिद्ध सल्यानको कपुरकोट गाउँपालिकामा कृषिजन्य वस्तुको निकासी कर लगाउने तयारीप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
कपुरकोट गाउँपालिकाले कृषिजन्य वस्तुमा प्रती किलो २५ पैसा निकासी कर असुल्ने तयारी थालेको भन्दै नेपाली कांग्रेस कपुरकोट गाउँपालिका कार्यसमितिले आपत्ती जनाएको हो ।
मंगलबार गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाउदै कांग्रेसले किसानलाई व्ययभार पर्ने गरी प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा कुनैपनि कर असुली नगर्न अपिल गरेको कांग्रेस कपुरकोटका प्रवक्ता कुबेर खत्रीले जानकारी दिए ।
कांग्रेस कपुरकोटका सभापति एकराज वलीको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा गाउँपालिकाले गएको हिउदे गाउँंसभाबाट कृषिजन्य वस्तुमा निकासी कर लिने प्रस्ताव गरेको र गत बैशाख २७ मा भएको गाउँपालिकाको अन्तरक्रियाको घोषणापत्रमा समेत कृषि उपज बजार संचालक समितिलाई पोस्ने तथा कृषि उत्पादनको मुल्यमा गिरावट ल्याउने प्रयास गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
कांग्रेस कपुरकोटका उपसभापति टिकाराम केसीको नेतृत्वमा पार्टी सचिव तिलक देवकोटा, प्रवक्ता कुवेर खत्री, वडा नम्बर ३ का सभापति प्रदिप खड्का, वडा नम्बर ४ का सभापति रत्नलाल वली, ५ का सभापति यज्ञ वोहरा, कमल घर्ती, खड्क केसी लगाएतले गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।











