नारायणपुर । नेपाली कांग्रेस क्षेत्र नम्बर २ दाङले मानव सेवा घरमा सहयोग गरेर १६ औँ गणतन्त्र दिवस मनाएको छ । गणतन्त्र दिवशको अवसरमा घोराही उपमहानगरपालिका १० नारायणपुरमा मानव कल्याण समाजले सञ्चालन गरेको मानव सेवा घरमा अत्यावश्यक सामाग्री सहयोग गरेर मनाएको हो ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ का उपसभापति प्रकाश श्रेष्ठको अध्यक्षता एवं नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरि सामाग्री सहयोग गरिएको थियो । सेवा घरसँगको समन्वयमा तरकारी, दाल, चना, केराउ, मसला, जीरा, मेथी, तेल, भुजा, नमकीन, सर्फ, नुहाउने लुगा धुने र भाडा मिस्ने साबुन, बेसार, हर्पीक लगायतका सागाग्रीहरु सहयोग गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीले मानव सेवामा समर्पीत मानव कल्याण सेवा समाजलाई सबैले सहयोग गर्न आग्रह गरे । नेपाली कांग्रेसले सामाजिक कार्यहरु बिगतदेखि सञ्चालन गर्दैै आएको र सोही सामाजिक सेवा अन्तरगत क्षेत्र नम्बर २ ले मानव सेवा घरलाई गणतन्त्र दिवशको अवसर पारेर सहयोग गरेको बताए ।
नेपाली कांग्रेसका महासमिति सदस्य एवं क्षेत्र नम्बर २ का सल्लाहकार भुपबहादुर डाँगीले नेपाली कांग्रेस सधै तल्लो वर्गका समुदायसँग रहेर काम गर्ने गरेको ईतिहास सम्झदै यस्ता सामाजिक कार्यले आत्मसन्तुष्टी मिल्ने बताए ।
