रुपन्देही। लुम्बिनी केबुलकार आजदेखि सञ्चालनमा आएको छ । लुम्बिनी केबुलकारले सोमबारदेखि आफ्नो व्यावसायिक कारोबार सुरु गरेको केबुलकारका अध्यक्ष चन्द्र ढकालले जानकारी दिएका छन् ।
दुई किलोमिटर छ सय मिटर लम्वाई रहेको उक्त केवुलकारको बुटवल उपमहानगरपालिका–३, बमघाटमा तल्लो स्टेसन छ भने पाल्पाको तिनाउ गाउँपालिका–३, वसन्तपुरमा अन्तिम स्टेसन रहेको छ । साढे तीन अर्ब लगानीमा सञ्चालनमा आएको लुम्बिनी केबुलकारमा ‘मोनोकेबुल डिट्याचेबल सिस्टम’ का २५ वटा ‘गोन्डाला’ रहेका छन् ।
यिनले दैनिक छ हजार यात्रु ओसारपसार गर्न सक्ने अध्यक्ष ढकालले बताए । अहिले परीक्षणका लागि १५ वटा ‘गोन्डाला’ प्रयोग गरिएको छ भने एउटा ‘गोन्डाला’ मा आठ यात्रुको क्षमता छ। तल्लो स्टेसनबाट माथिल्लो स्टेसनमा पुग्न करिब १० मिनेटको समय लाग्ने छ ।











