तोकिएकै मितिमा नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको सुनिश्चतताको माग गर्दै ने.वि.संघका नेताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट रिले अनशन सुरु गरेका छन् । ८ औं पटक सम्म मिति घोषणा गरी ने.वि.संघको महाधिवेशन स्थगित हुँदै आएको छ । पटक पटक मिति घोषणा गर्दै पार्टी नेतृत्वको दवाबमा सारिदै आएको महाधिवेशन अब सार्न नहुने भन्दै नेताहरु अनसन बसेका हुन् ।
करिब ५ वर्ष अघि ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने म्याण्डेड लिएर आएको वर्तमान केन्द्रीय समितिले यही श्रावण २३ देखि २५ गतेसम्म महाधिवेशन हुने घोषणा गरेको छ । संघका पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्ले को नेतृत्वमा ११ जना विद्यार्थी नेता अनसनमा बसेका छन् ।
नेवि संघका केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले ने.वि.संघको महाधिवेशन तोकिएकै समयमा विधिवत् रुपमा सम्पन्न गर्न र ने.वि.संघको विधि र विधान विपरित भागवण्डा गरिएका नेतृत्व र करिब १६०० महाधिवेशन प्रतिनिधि खारेज गरी विधि अनुसार नेतृत्व र प्रतिनिधि चयनका लागि दबाब दिन अनसन सुरु गरिएको बताउनुभयो ।
अनसनमा काभ्रे, धादिङ, संखुवासभा, जाजरकोट, गुल्मी, अर्घाखाँची, बाँकेलगायतका जिल्ला अध्यक्ष र उपत्यकाका नेपाल ल क्याम्पस, ग्रामिण आदर्श क्याम्पस, थापाथली इञ्जिनियरिङ्ग क्याम्पस, सरस्वति बहुमुखी क्याम्पस, पध्मकन्या बहुमुखी क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस लगायत अन्य अधिकांश क्याम्पस इकाईको समर्थन तथा ऐक्यबद्धता रहेको बताइएको छ ।।
